तराईको शिक्षण पेशामा भविष्य (?) — दिपेन्द्र कानु

1
66

शिक्षण पेशालाई एउटा प्रतिष्ठित पेशा मानिन्छ । शिक्षकले नै हजारौं शिष्यहरुलाई विभिन्न पेशा गर्न सिकाउंछन् । त्यसैले होलो विदेशमा शिक्षणा पेशा सबैभन्दा प्रतिष्ठित हुनुका साथै यसमा राम्रो तलब सुविधा रहेको पाइन्छ जसले गर्दा शिक्षकहरु आफूलाई सुरक्षित रहेको महसुस गर्छन् ।

नेपालको परिवेशमा शिक्षा महंगो भएपनि शिक्षकहरुको आर्थिक अवस्था दयनिय रहेको पाइएको छ । राजधानिमा केही हदसम्म शिक्षकहरुको अवस्था राम्रो रहेपनि नीजि संस्थामा अध्यापन गराउने शिक्षकहरुको काम, तनाव, विभिन्न जिम्मेवारी र अनावश्यक हस्तक्षेपको तुलनामा तलब सुविधाको कुरा गर्ने हो भने लाजमर्दो छ ।

अन्य मूलुकमा शिक्षामा सरकारी लगानी, र प्रतिफल उच्च रहेपनि राजनीतिक हस्तक्षेपले गर्दा नेपालमा नीजि शैक्षिक संस्थाले सरकारी विद्यालयहरुलाई खुलेआम चुनौति दिइरहेको जो कोहिले पनि पक्कै देखेको हुनुपर्छ । सरकारि स्कूलमा शिक्षकहरुको तलबसुविधा अलि ठिक रहेपनि कमजोर व्यपवस्थापन पक्ष, राजनीति हस्तक्षेप, शिक्षा नीति र शिक्षामा अभिभावकको न्यून लगानीले गर्दा पठनपाठन क्रियाकलाप अस्तव्यस्त छ । अर्कोतिर नीजि शैक्षिक संस्थामा अन्य सबैथोक राम्रो भएर पनि शिक्षकहरुको मूख्य तलब नै न्युन भएकोले यस पेशामा आकर्षण कम भएर अहिले कतिपय स्कूलहरुमा प्रशिक्षित शिक्षक पाउनै गाह्रो भएको छ ।

झन, तराईको सन्दर्भमा कुरा गर्ने हो भने एउटा शिक्षकले दैनिक सात वा आठ वटा घण्टी लिनु पर्ने, सबै विषयको तीनवटा टर्मिनल र तीनवटा यूनिट टेष्ट गरी वर्षको छ वटा परीक्षाको काम घर लगेर भएपनि गर्नुपर्ने, कापीहरु जाँच्नै पर्ने, रिजल्ट बनाउने, इन्ट्री गर्ने, विदाको दिन पनि विभिन्न बहानामा स्कूल पुग्नै पर्ने, कुनै अनुपस्थित शिक्षकको घण्टी सहयोग स्वरुप निशुल्क लिनै पर्ने, एउटै शिक्षकले विभिन्न विषयहरु पढाउनुपर्ने, र बेला बेलामा जिम्मेवारी, लेसन प्लान, समयमा कोर्ष पूरा भए नभएको, आदि विषयहरुको बारेमा प्रशाशनको गुनासो सुन्नै पर्ने, सानोतिनो गलतिमाथि अभिभावकहरुको गुनासोमा सबैको अगाडि गालि खानुपर्ने हुन्छ ।

यति तनावपूर्ण वातावरणमा काम गर्दा पनि एकजनाको पेट पनि भर्न नसकिने तलब रु. छ हजार जति, त्यो पनि महिना लागेको १५ दिन कुरेर, अनुपस्थित भए सो दिनको तलब काटेर बुझ्नुपर्ने अवस्था अझै छदैंछ । शैक्षिक संस्था मात्र मोटाउने गरी गरिएको व्यवस्थामा त्यो शिक्षकले कति गुणस्तरिय शिक्षा देला, बच्चाहरुको कति वास्ता गर्ला, कति दिन टिकला, उसको आफ्नै भविष्य के होला ?

नीजि संस्थामा शिक्षण मात्र गराएर कोहि सप्रिएको औलामा गन्न सकिने उदाहरणहरु होलान् तर गल्ली–गल्लीमा च्याउझै उम्रिएका स्कूलहरुले दिन दुईगुणा रात चौगुणा हिसावले प्रगति गरेको उदाहरण सजिलै देख्न सकिन्छ । विभिन्न परीक्षा शुल्क, अतिरिक्त क्रियाकलाप शुल्क, यातायात शुल्क, सेवा शुल्क, पुजा शुल्क, पिकनिक शुल्क, भ्रमण शुल्क, कम्प्यूटर शुल्क, नृत्य तथा संगीत शुल्क जस्ता अनेकौ शुल्क लगायत पुस्तक तथा अन्य सामाग्रीमा भारी कमिसनले प्रत्येक वर्ष बस, कक्षा कोठा, कम्पूटर, नयाँ भवन, जेनेरेटर, जग्गा, बैङ्क व्यालेन्स आदि थप्या थपेकै हुन्छन् ।

यस्तो महंगो समयमा एक जनाको पनि पेट पाल्न नसकने तलबले भोलि परिवार, बालबच्चा वा विरामी खर्च पनि के धान्ला र ? अर्को काम नपाउन्जेल सम्म मात्र, केही दिन अल्झिन, नास्ता खान वा तरकारी अथवा पकेट खर्च मात्र धान्नलाई जोहो पुर्याउनेले भविष्य नै नभएको पेशालाई बिच्चैमा छाडेर अर्को राम्रो तलब भएको जागिर गर्न गए के गलत गर्छ ? कुन पाप गर्छ र ?