‘सरकारले नेपाली श्रमिकको उठिबास लगाउन खोज्दैछ’ : आब्दीन

0
13

बिदेशमा बसेर रगत पसिना बगाउँदै गरेका लाखौ नेपाली श्रमिकहरु मध्ये म पनि एक हुँ । बिदेशमा काम गर्न चाहने नेपालीहरुलाई मात्र दुःख दिने र परेशान गर्ने नियत भएको नेपाल सरकारले एक पछि अर्को झंझटिलो तथा अव्यवहारीक नियमहरु बनाउँदै गरेकोमा हाम्रो खेद तथा विरोध छ । बिदेशबाट दुःख गरेर पठाएको पैसाले गाउ“हरु शहर बनिरहेका छन्, विपन्न घरहरु सम्पन्न भइरहेका छन् र कतिपयले व्यापार शुरु गरेर सरकारलाई सहयोग पनि गरिरहेको बेला गरिबहरुबाट पैसा खान पल्केका एजेन्ट तथा सरकारी कर्मचारीहरुले थप पेचिलो नियमहरु बनाउनु बुझ्न नसकिनु छ । यसै भनिएको छैन्, ‘नेपालको कानून, दैवले जानुन ।’

परिवारबाट अलग भएर हामी बिदेशमा अनेक दुःखका साथ काम गर्नु पक्कै पनि हाम्रो रहर होइन । सरकारले हाम्रै योग्यता अनुसार तलब सुविधा उपलब्ध गराएको भए म जस्ता लाखौ नेपालीहरु बिदेशमा श्रम गर्न शायदै आउँथे होला ।

खासै भन्ने हो भने शुरुशुरुमा घर विदामा आउँदा जाँदा कुनै झन्झट थिएन र त्यसैले रोजगारीमा फर्किन पनि कुनै चिन्ता थिएन । तर जब सरकारले श्रम स्वीकृति ल्यायो त्यति खेर रोजगार व्यवस्थित गर्न र बिमाको गर्ने गराउने बहानामा नयाँ नियमहरु लगाईयो । हामी पनि पुरा साथ र सहयोग गर्यौ, त्यसपछि त व्यवहारमा उल्टै हाम्रो पैसा पनि जाने, समय पनि जाने र ब्यर्थ मानसिक तनाव पनि हामीलाई दिन थालियो । बाघलाई रगतको स्वाद लागे जस्तै सरकारी अधिकारीलाई घूस को स्वाद पाईसके पछि पारादर्शि ढंगले समयमै झर्को नमानी काम गर्न कहाँ मन लाग्छ र रु कहिँ न कहिँ यो गलत भो, यो मिलेन त्यो मिलेन, फलानो कागज चाहिन्छ, चिलानोको सिफारिस चाहिन्छ, जस्ता अनेक बहानामा दुनिया दुःख र टेन्सन दिएर घुस खान थालियो । पैसा फ्याल्नेका लागि केहि पनि चाहिन्न । नमिल्ने चीज पनि मिल्दो रहेछ । पैसाको अगाडि नियम कानून नै बद्लिंदो रहेछ ।

अब फेरि सरकारले नयाँ नियम लाद्न खोज्दै छ, जस अनुसार ‘भिसामा उल्लेख भन्दा फरक काम गर्नेलाई इजाजत नदिइने’ भनिएको छ । वैदेशिक रोजगार विभागलाई अब बिदामा आएर पुनः सोही कम्पनीमा फर्कन चाहने कामदारले भिसामा उल्लेखित पेसा र गरिरहेको काम समान भएको कागजाद देखाउनु पर्नेछ । यो नया नियम लगाएर बैदेशिक रोजगारीमा आएका श्रमिकको पाएको  जागिर पनि खोस्ने वा घुस खाने एउटा पाटो मात्रै  देखिन्छ । खाडीमा कार्यरत नेपाली कामदारहरुले भने विभागको यो निर्णय ‘अव्यवहारिक’ भएको प्रतिक्रिया दिएका छन् ।

मेरो प्रस्न यदि पुरानो श्रमिकहरु घर बिदा गए पछि आफु सन्तुष्ट छ भने मात्रै आउने गर्छन भने त्यसतालाई किन रोक्नु पर्यो ?

शुरुमा मजदूर को पेसामा आएका तर आफ्नो मेहनत र अनुभव बटुल्दै जादा आज कम्पनी को प्रबन्धक सम्म पुगेको र ज्याला र सुबिधा त्यहि अनुसार पाउन थाले पनि त्यहाँ को इकामा (निवासी अनुमति) मा अहिले सम्म मजदुर नै छ भने पनि त्यस्ता श्रमिकलाई केहि फरक न पर्दा भने नेपाल सरकारको टाउको दुखाईको कारण के ?

कतिपई नेपालीहरु फ्री भिसामा आएर आफ्नै व्यापार गरेका छन् भने त्यस्ता व्यक्तिले के आधारमा आफ्नो पेशा प्रमाणित गर्ने र यसमा नेपाल सरकारलाई के देखाउने ?

कि त सरकारले नेपालमै रोजगार सिर्जना गरेर विदेश जस्तै राम्रो तलब सुविधा दिनु पर्यो ताकी हामीलाई बिदेसिनु न परोस वा आउन जान चाहने नेपालीहरुलाई प्रक्रिया सरल र सजिलो बनाई दिनुपर्यो ।

गैर आवासीय नेपाली संस्था र अरु नेपाली संस्थाहरुको पनि यस बिषयमा ध्यान जावोस् र यस्तो अव्यवहारिक नियमको कडा भन्दा कडा बिरोध गर्नु पर्ने देखिन्छ । साथसाथै खाडी मुलुकमा अवस्थित राजदूतावासको पनि यसबारे आफ्नो धारणा प्रतिवेदन तयार गरेर सरकार समक्ष राख्नु पर्ने आवश्यक्ता देखिन्छ ।

– मोहम्मद जैनुल आब्दीन

अध्यक्ष – अन्तरास्ट्रिय नेपाली मुस्लिम समाज, साउदी अरब

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here